पोखरा । सार्वजनिक स्थानमा झै–झगडा गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ जेठ ८ गते पोखरा महानगरपालिका–९ नयाँबजार क्षेत्रमा दुई समूहबीच भएको झै–झगडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई पृथ्वीचोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार सवारी साधनको हेल्परको काम गर्ने र खाना खाने विषयमा भएको विवादले झै–झगडाको रूप लिएको खुल्न आएको छ।
नियन्त्रणमा लिइएकामध्ये तनहुँ, धादिङ, स्याङ्जा र कास्कीका २२ देखि ३२ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।