काठमाडौं, जेठ २९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा तातो हावा (हट डे) र गर्मीको लहर (हिट वेभ) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा ‘हिट वेभ’ तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तातो हावाको लहर चल्ने सम्भावना रहेको जनाएको छ।
सूचनामा केही क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने उल्लेख गरिएको छ। अत्यधिक गर्मीका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण शरीरको तापक्रम बढ्ने, थकान लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा मांसपेशी दुख्ने जस्ता समस्या देखिन सक्छन्।
प्राधिकरणले चर्को घाम लाग्ने समयमा घरबाहिर ननिस्कन, बाहिर जाँदा छाता वा हल्का कपडाले टाउको छोप्न, प्रशस्त पानी पिउन, झोलिलो तथा ताजा खानेकुरा सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया लगायतका जिल्लामा विशेष सतर्कता अपनाउन तथा झापा, मोरङ, सुनसरी, चितवन, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा अत्यधिक गर्मीको प्रभाव देखिन सक्ने प्राधिकरणले जनाएको छ।