पोखरा, जेठ २७ । पोखरा महानगरपालिकाको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक उपप्रमुख तथा समितिकी संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि हालसम्म भएका गतिविधि, चुनौती र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा जोखिममा रहेका वडाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संयोजक गुरुङले कार्यविधिअनुसार प्रभावकारी रूपमा काम अगाडि बढाउन निर्देशन दिइन्। उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा अझ व्यवस्थित र परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिइन्।
छलफलका क्रममा शक्ति समूहकी संस्थापक सदस्य चारिमाया तामाङले वडा तहसम्म कार्यविधि निर्माण भइसकेको र कार्यक्रमले गति लिइरहेको बताइन्। उनले स्थानीय र केन्द्रीय समितिबीच अपेक्षित समन्वय हुन नसकेको उल्लेख गर्दै स्थानीय तहले मन्त्रालयसँग आवश्यक सूचना तथा समन्वय प्राप्त गर्न कठिनाइ भोग्नुपरेको धारणा राखिन्। यद्यपि स्थानीय सरकारले मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको उनको भनाइ थियो।
तामाङले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायहरूको नियमित अनुगमन गरी कानुन तथा मापदण्ड कार्यान्वयन नगर्ने व्यवसायीमाथि कारबाही गर्नुपर्ने आवश्यकता औंल्याइन्। मानव बेचबिखन तथा यौन शोषणका जोखिम न्यूनीकरणका लागि मनोरञ्जन क्षेत्रको प्रभावकारी नियमन अपरिहार्य रहेको उनको भनाइ थियो।
बैठकमा सामाजिक विकास महाशाखाकी निर्देशक निर्मला शर्माले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न सचेतनामूलक तथा संरक्षणात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा सम्बन्धित निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ।
बैठकमा वडासदस्य गोविन्द बराल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पाैडेल, कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्मा, पत्रकार एकराज गिरी, प्रहरी सहायक निरीक्षक रञ्जना कुँवर, शक्ति समूहकी सरिता पौडेल, बाल सञ्जाल समितिका सचिव दिक्षान्त रानाभाट र तारा कुमारी गाैतम लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी शक्ति समूहकी संस्थापक सदस्य चारिमाया तामाङ, परियोजना संयोजक अनुप केसी, सामाजिक विकास महाशाखाकी मञ्जु ढुङ्गाना तथा रोजगार संयोजक विष्णु दाहाल आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्याे ।