पोखरा, जेठ २८ । पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क क्षेत्रभित्र रहेका जग्गाधनीहरूलाई आफ्नो जग्गासम्बन्धी कागजात ७ दिनभित्र पेश गर्न आग्रह गरेको छ।

समितिले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामा बसपार्क क्षेत्रको चालुकिल्लाभित्र रहेका र आफ्नो नाममा दर्ता श्रेस्ता कायम भएका व्यक्तिहरूलाई लालपुर्जा तथा जग्गासम्बन्धी अन्य कागजात कार्यालयमा बुझाउन अनुरोध गरिएको हो।
छानबिन समितिको मिति २०८३ जेठ २५ गतेको निर्णयअनुसार सम्बन्धित व्यक्तिहरूले स्वयं उपस्थित भई आवश्यक कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ। समितिले जग्गाको स्वामित्व, दर्ता तथा सम्बन्धित विवरण यकिन गर्न कागजात संकलन प्रक्रिया अघि बढाइएको जनाएको छ।
सूचनाअनुसार नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि तथा जग्गासँग सम्बन्धित राजीनामालगायत अन्य कागजात पेश गर्नुपर्नेछ।
समितिले तोकिएको अवधिभित्र कागजात पेश गरी आवश्यक प्रक्रिया सम्पन्न गर्न सम्बन्धित सबै जग्गाधनीलाई अनुरोध गरेको छ।