लेकसाइडमा खानेपानी संकट, समाधानको माग गर्दै होटल व्यवसायी संस्थान पुगे

पोखरा, असार ५ – पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा चर्किएको खानेपानी अभावप्रति चिन्ता व्यक्त गर्दै होटल संघ पोखरा नेपालको टोली बिहीबार नेपाल खानेपानी संस्थान, पोखरा पुगेको छ।

खानेपानी अभावका कारण होटल व्यवसाय सञ्चालनमै समस्या उत्पन्न भएको भन्दै संघले संस्थानको ध्यानाकर्षण गराएको हो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पर्यटनको राजधानीका रूपमा परिचित पोखराको प्रमुख पर्यटकीय क्षेत्रमा दैनिक खानेपानी अभाव हुनु गम्भीर विषय भएकाले समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो।

 

होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब पाँच अर्ब रुपैयाँ लगानीमा सम्पन्न भएको खानेपानी आयोजना सञ्चालनमा आए पनि पर्याप्त पानी उपलब्ध हुन नसक्नु दुःखद भएको बताए। “पोखरामा २० वर्षसम्म खानेपानी अभाव नहुने भनिएको थियो, तर अहिले पनि व्यवसायी र सर्वसाधारणले पानीको समस्या झेलिरहेका छन्,” उनले भने।

 

पराजुलीका अनुसार होटल व्यवसायीहरूले दैनिक ट्यांकरमार्फत पानी खरिद गरेर व्यवसाय सञ्चालन गर्न बाध्य भएका छन्। “पर्यटकीय राजधानी भनिने शहरमा कम्तीमा खानेपानीको सहज उपलब्धता हुनुपर्छ,” उनले जोड दिए।

 

खानेपानी संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले मर्दीखोलाबाट पोखरासम्म पानी ल्याउने मुख्य पाइपको क्षमता पर्याप्त नभएकाले समस्या देखिएको जानकारी दिएको पराजुलीले बताए। उनका अनुसार आयोजना सम्पन्न भए पनि वितरण प्रणालीमा रहेका प्राविधिक सीमाका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको हो।

 

समस्या समाधानका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरी मुख्य पाइप विस्तारको काम अघि बढाउनुपर्ने व्यवसायीहरूको माग छ। “मुख्यमन्त्री र मेयरले यस विषयलाई प्राथमिकतामा राख्नुपर्छ,” पराजुलीले भने।

 

२०७४ साल भदौमा सम्झौता भएको ‘पोखरा खानेपानी सुधार आयोजना’ २०८१ मंसिरमा सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी रहेको उक्त आयोजनाबाट दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता रहेको छ। तर पोखरामा दैनिक ८ करोड लिटरभन्दा बढी पानीको माग रहेको बताइन्छ।

 

हाल पुरुञ्चौरस्थित प्रशोधन केन्द्रबाट पोखरा–५ पस्र्याङ र पोखरा–११ फूलबारी क्षेत्रबाट पानी वितरण भइरहेको छ भने पोखरा–१५ कोलपाटनस्थित ट्यांकी प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन। व्यवसायीहरूले खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन तत्काल दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...