पोखरा, असार १५ – स्थानीय महिला तथा युवाहरूलाई सीपयुक्त बनाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३ को आयोजनामा सञ्चालन गरिएको १५ दिने निःशुल्क मेकअप, स्किन केयर तथा हेयर कटिङ सम्बन्धी तालिम सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं. ३ को आयोजना तथा श्वेता युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लि. को सहकार्यमा सञ्चालित तालिम जेठ २९ गतेदेखि सुरु भएको थियो। तालिममा सहभागीहरूलाई मेकअप, स्किन केयर, हेयर कटिङ तथा ब्युटिसियनसम्बन्धी आधारभूतदेखि व्यावसायिक सीपसम्म प्रयोगात्मक रूपमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

कन्या क्याम्पस पोखराको सभाहलमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य सनकमान सीके ले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरणका साथै स्थानीय महिला तथा युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सीप आर्जनसँगै स्वरोजगार सिर्जना गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
विशेष अतिथि कन्या क्याम्पस पोखराका प्रमुख सुरेश मानन्धर ले सीप र शिक्षाको संयोजनले रोजगारीका नयाँ अवसर सिर्जना हुने उल्लेख गर्दै सहभागीहरूलाई सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे।
कार्यक्रममा पूर्व वडा सदस्य लक्ष्मी पराजुली ले महिलाको आर्थिक सशक्तीकरणका लागि स्थानीय तहले सञ्चालन गर्ने यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरिन्।
वडा सदस्य सवि परियार को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक शर्मिला रानाभाट, सहायक प्रशिक्षक श्रेया रानाभाट तथा प्रशिक्षक दिलु सिंह ले १५ दिनसम्म सहभागीहरूलाई व्यावसायिक सौन्दर्य सेवा सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।
वडाले यस्ता सीपमूलक कार्यक्रमले स्थानीय नागरिकलाई आफ्नै ठाउँमा स्वरोजगार बन्न प्रेरित गर्नुका साथै आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।