पोखरा, असार २६ — पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवकलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ।

पोखरा महानगरपालिका–६ स्थित फेवातालमा शुक्रबार दिउँसो करिब ४:५० बजे पौडी खेल्ने क्रममा अन्दाजी ३५/३६ वर्षीय भारतीय नागरिक रोहित कुमार तालमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्की मातहतको फेवा वाच एण्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा विपद् व्यवस्थापन टोली तत्काल घटनास्थल पुगेको थियो।
टोलीले खोजी गर्ने क्रममा करिब ५:१० बजे तालको करिब १० फिट गहिराइबाट रोहित कुमारलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीले जनाएको छ।