पोखरा, असार २९ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोलास्थित नयाँपुल–घान्द्रुक सडकखण्डमा पहिरो र सडक भासिएपछि अवरुद्ध भएको सडक शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार असार २८ गतेको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा घान्द्रुकतर्फ जाँदै गरेका २७ वटा सवारीसाधन बाटोमै रोकिएका थिए। रोकिएका सवारीमा ३ वटा बस, १३ वटा जिप/कार/भ्यान, ७ वटा मोटरसाइकल र ४ वटा ट्याक्सी रहेका थिए।
सडक अवरुद्ध हुँदा करिब १०० जना यात्रु नजिकका होटलमा बसेर बाटो खुल्ने प्रतीक्षामा रहेका थिए। जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा बिरेठाँटी प्रहरी चौकीका प्रहरी निरीक्षक डिलबहादुर भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्काभेटर प्रयोग गरी सडक मर्मतको काम अघि बढाएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार अपराह्न ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। यद्यपि सडक पूर्ण रूपमा मर्मत नभएसम्म उक्त सडकखण्डमा सावधानी अपनाएर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।