उच्च अदालत पोखरामा लक्ष्यभन्दा बढी फर्छ्योट, वार्षिक प्रगति ७५.५८ प्रतिशत

एकराज गिरी/पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा मुद्दा फर्छ्योटतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ। उच्च अदालत पोखराका मुख्यन्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै अदालतले न्याय सम्पादनलाई प्रभावकारी बनाउन उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए।

उनका अनुसार अदालतमा जिम्मेवारी सरेका ५७० र नयाँ दर्ता भएका २ हजार १२१ गरी कुल २ हजार ६९१ मुद्दामध्ये १ हजार ५७० मुद्दा फर्छ्योट गरिएको छ भने ४९१ मुद्दा बाँकी रहेका छन्। यससँगै यथार्थ फर्छ्योट प्रतिशत ७५.५८ प्रतिशत पुगेको छ।

वार्षिक रूपमा २ हजार ७५ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकामा १ हजार ५७० मुद्दा फर्छ्योट गरी लक्ष्यको ७५.६९ प्रतिशत उपलब्धि हासिल भएको मुख्यन्यायाधीश बागचन्दले बताए।

 

उनका अनुसार बाँकी रहेका ४९१ मुद्दामध्ये ३१४ मुद्दा ६ महिनाभित्रका, १६९ मुद्दा ६ महिनादेखि १ वर्षभित्रका र ८ मुद्दा १ वर्षदेखि १८ महिनाभित्रका छन्। १८ महिनाभन्दा पुराना कुनै मुद्दा बाँकी नरहेको उनले जानकारी दिए।

 

अदालतमा रहेका ४५५ प्रतिवेदनमध्ये ४४४ प्रतिवेदन फर्छ्योट भई ११ प्रतिवेदन मात्र बाँकी रहेका छन्। मेलमिलाप सेवामार्फत २८० मुद्दा पठाइएकामा ३८ मुद्दामा सफल मेलमिलाप भएको छ भने सफलता दर १३.५७ प्रतिशत रहेको छ।

 

डिजिटलाईजेसनतर्फ २ हजार ५०० फाइल डिजिटलाईजेसन गर्ने लक्ष्य रहेकामा २ हजार ५२४ फाइल डिजिटलाईजेसन सम्पन्न भएको तथा हालसम्म कुल २५ हजार ४९१ फाइल डिजिटलाईजेसन गरिएको मुख्यन्यायाधीश बागचन्दले बताए।

 

तीन वर्षको प्रगति हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ५४.४७ प्रतिशत रहेको फर्छ्योट दर २०८१/८२ मा ६५.०७ प्रतिशत र २०८२/८३ मा ७५.५८ प्रतिशत पुगेको उनले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...