पोखरा, साउन । कास्कीको पोखरा महानगरपालिका–१३, विजयपुर पोखरीगाउँमा गएराति पहिरो खस्दा एक घरमा क्षति पुगेको छ भने दुई जना घाइते भएका छन्।

राति बुद्धिबहादुर गुरुङको घरमुनिबाट पहिरो खस्दा घरमा क्षति पुगेको हो। उक्त घरमा अस्थायी रूपमा बसोबास गर्दै आएका बलदेव घर्तीमगर र उनकी श्रीमती भावना घर्तीमगर घाइते भएकाे पाेखरा १३ का वडा सदस्य रजनी परियारले जानकारी दिइन ।

घटनालगत्तै वडा जनप्रतिनिधि, स्थानीयवासी तथा सम्बन्धित निकायको समन्वयमा तत्काल उद्धार गरी वडाद्वारा सञ्चालित एम्बुलेन्समार्फत गण्डकी अस्पताल पुर्याई उपचार गरिएको थियो। हाल दुवै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनले जनाएकी छन ।

वडाले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्षायाममा बाढी–पहिरोको जोखिम बढेकाले सबै वडावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को सूचना प्राप्त हुनासाथ वडा कार्यालय वा सम्बन्धित निकायसँग तत्काल समन्वय गर्न आग्रह गरिएको छ।