पोखरा, साउन २ — राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, सदस्यता विस्तार, युवा परिचालन, प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णय गरेको जनाएको छ।

प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लागत प्रतिवेदनको समीक्षा गर्दै सबै जिल्लामा संगठन विस्तारलाई प्रभावकारी बनाउने, सदस्यता नवीकरण तथा नयाँ सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै जिल्ला, पालिका र वडा तहमा बैठक तथा युवा मेला आयोजना गरी संगठनात्मक गतिविधि बढाइने जनाइएको छ।
बैठकले आगामी महिनाभित्र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रदेश, जिल्ला तथा पालिका समितिका पदाधिकारीलाई प्रशिक्षणमा सहभागी गराउने तथा रक्तदान, वृक्षारोपण र युवा साहित्य जागरणजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला, पालिका र वडा तहमा युवा स्वयंसेवक टोली परिचालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी बेरोजगारी, युवाको वैदेशिक पलायन, आत्महत्या, महँगी, भ्रष्टाचार तथा सुशासनका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले समसामयिक राजनीतिक विषयमा धारणा व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार र संविधानको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ। साथै सरकारले प्रतिशोधपूर्ण गतिविधि रोक्दै कानुनी शासनको पालना गर्नुपर्नेमा जोड दिएको राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सचिब किरण ढकालले बताए ।
बैठकबाट प्रदेश, जिल्ला, पालिका र वडा तहमा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा आगामी तीन महिनाभित्र निर्णय कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।