पोखरा, साउन ४ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडास्तरमै प्रभावकारी रणनीति निर्माण र सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका वडा अध्यक्ष तथा वडा सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अनाथ नेपालको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई मानव बेचबिखन तथा ओसारपसारमुक्त महानगर बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

उहाँले मानव बेचबिखन जघन्य अपराध भएकाले यसको नियन्त्रणमा स्थानीय सरकार मात्र नभई सरकारी निकाय, सुरक्षा निकाय, न्यायिक निकाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

उपप्रमुख गुरुङले पोखरा महानगरपालिकाका ३३ वटै वडामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरी वडास्तरबाटै प्रभावकारी रूपमा काम अघि बढाइने जानकारी दिनुभयो। ती समितिमार्फत जनचेतना अभिवृद्धि, जोखिममा रहेका व्यक्ति तथा समुदायको पहिचान, उद्धार, समन्वय र रोकथामका कार्यक्रम सञ्चालन गर्दै पोखरालाई मानव बेचबिखनमुक्त महानगर बनाउने योजना रहेको उहाँले बताउनुभयो।

मानव बेचबिखन नियन्त्रणका लागि कानुनी कार्यान्वयनसँगै समुदायमा सचेतना, समयमै सूचना आदानप्रदान र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाकी निर्देशक निर्मला शर्माले मानव बेचबिखन नियन्त्रण, स्थानीय तहको भूमिका, कानुनी व्यवस्था तथा वडास्तरमा अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव बसन्त पन्थीले मानव बेचबिखन गरिबीका कारण मात्र नभई माया, विश्वास, झुटा आश्वासन, वैदेशिक रोजगारी, विवाह तथा विभिन्न प्रलोभनका कारण पनि हुने गरेको बताउनुभयो। मानव बेचबिखन विश्वव्यापी समस्या भएकाले यसको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता दीपक अर्यालले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनी व्यवस्था, अनुसन्धान, अभियोजन तथा दोषीमाथि हुने कानुनी कारबाहीबारे जानकारी गराउनुभयो। उहाँले मानव बेचबिखनमा संलग्न जो–कोहीलाई कानुनअनुसार मुद्दा चलाइने र पीडितको संरक्षण तथा न्यायमा विशेष प्राथमिकता दिइने बताउनुभयो।
अनाथ नेपालका अनुप केसीले समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिममा रहेका महिला तथा बालबालिकाको पहिचान, उद्धार, संरक्षण तथा पुनःस्थापनामा स्थानीय तहको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ र वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले वडास्तरमा मानव बेचबिखन नियन्त्रणका लागि जनचेतना, निगरानी प्रणाली र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)का अनुसार विश्वभर करिब २ करोड ७६ लाख मानिस जबरजस्ती श्रममा संलग्न हुन बाध्य छन्। यसबाट अपराधी समूहले वार्षिक २३६ अर्ब अमेरिकी डलर बराबरको अवैध आम्दानी गर्ने गरेका छन्। जबरजस्ती श्रमका अधिकांश पीडित निजी क्षेत्रमा शोषित छन् भने बालबालिका र प्रवासी कामदार उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।
नेपालमा विगतमा मुख्यतः महिला तथा बालबालिकालाई भारतीय सहरहरूमा यौन शोषणका लागि बेचबिखन गरिने प्रवृत्ति रहेकामा पछिल्लो समय वैदेशिक रोजगारीका नाममा श्रम शोषण, मानव बेचबिखन तथा होटल, रेष्टुरेन्ट, मनोरञ्जनलगायत क्षेत्रमा आन्तरिक मानव बेचबिखनका घटना बढ्दै गएको विषयमा पनि कार्यक्रममा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहको सक्रियता, जनचेतना अभिवृद्धि, कानुनी कार्यान्वयन तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वयमार्फत वडास्तरबाटै मानव बेचबिखन नियन्त्रणका ठोस रणनीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।