शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर खारेज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने घोषणा गरेका छन्।

मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिलेको अवस्थामा कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थिक भार र निराशा भोग्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

 

प्रधानमन्त्री शाहले सरकारले जनताको भावना र प्रतिक्रियालाई सम्मान गर्दै निर्णय गरेको उल्लेख गरेका छन्। उनका अनुसार समता शुल्कको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको थियो।

 

उनले नागरिकको हितलाई केन्द्रमा राखेर सरकारका निर्णय गरिने भन्दै कुनै निर्णयप्रति जनअसन्तुष्टि देखिए त्यसलाई सुधार तथा परिमार्जन गर्न सरकार सधैं तयार रहने बताएका छन्।

 

साथै, गरिब तथा विपन्न नागरिकले निजी क्षेत्रबाट पनि सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...