लायन्स क्लब अफ पोखरा बाराही टाउनद्वारा तीनदिने हस्तकला तालिम शुभारम्भ

पोखरा, साउन १० ।लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा तीनदिने हस्तकला तालिम शनिबारदेखि सुरु भएको छ।


लायन्स डिस्ट्रिक्ट ३२५ आईका गभर्नर लायन सूर्यकुमार के.सी.को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा निवर्तमान डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, डिस्ट्रिक्ट फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर (V.D.G.) लायन शैलेन्द्र मोहन भट्टराई, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर (V.D.G.) लायन विष्णु भण्डारी, डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन ऋषि गिरी तथा असिस्टेन्ट एड्भाइजर लायन अमृत शोभा खत्रीलगायतको उपस्थिति रहेको थियो।

 

क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जुकेटिभ लायन रोजी श्रेष्ठले पुन्यभूमि आमा समूहका अध्यक्ष मीना सापकोटा नेतृत्वको टोलीलाई तीनदिने तालिममार्फत कुशन, गुडिया तथा मकैको खोस्टाबाट बुके फूल बनाउने सीप प्रदान गरिने जानकारी दिनुभयो।

 

शिमलटुँडा टोल विकास संस्थाको भवनमा सञ्चालन भइरहेको तालिमका प्रशिक्षक तथा क्लबकी कोषाध्यक्ष लायन सावित्रा पराजुलीले तालिमले महिलाहरूको सीप विकाससँगै स्वरोजगारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

क्लबकी अध्यक्ष तथा तालिम संयोजक लायन लक्ष्मी ठाकुरीले शिमलटुँडा टोल विकास संस्थासँगको सहकार्यमा आगामी दिनमा पनि यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै स्थानीय महिलालाई आत्मनिर्भर र रोजगारीमुखी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि गभर्नर लायन सूर्यकुमार के.सी.ले महिला नेतृत्वमा रहेको बाराही टाउन क्लबले समुदायमा प्रभावकारी सेवा गर्दै आएको उल्लेख गर्दै “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। क्लबले आवश्यक ठानेमा डिस्ट्रिक्टबाट आवश्यक सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो।

 

उहाँले डिस्ट्रिक्टको मूल नारा “Caring by Sharing” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्लबहरूलाई आगामी दिनमा विशेष सम्मान तथा पदक प्रदान गरिने पनि जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन लक्ष्मीदेवी शर्माले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...