पोखरा । लायन्स डे तथा एकादशीको अवसर पारेर लायन्स क्लब अफ पोखरा बाराही टाउनले बिरामीलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

क्लबले सोमबार पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा उपचाररत शिव गौतमलाई नगद, लत्ताकपडा र फलफूल सहयोग गरेको हो । क्लबकी सचिव लक्ष्मीदेवी शर्मा गौतमकी दिदी बिना खड्काको जन्मदिनको अवसरमा नगद २१ हजार ५०१ रुपैयाँसहित सहयोग गरिएको क्लबले जनाएको छ ।
क्लब अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक कमिटी चियरपर्सन तथा पास्ट डिस्ट्रिक गभर्नर लायन राम बसेलको उपस्थिति थियो । कार्यक्रममा डिस्ट्रिक एक्जुकेटिभ कोर्डिनेटर लायन रोजी श्रेष्ठ, डिस्ट्रिक काउन्सिलर लायन आरती अधिकारी, डिस्ट्रिक कोर्डिनेटर लायन ज्ञानबहादुर थापा र जोन चियरपर्सन लायन विजया लक्ष्मी खड्कालगायतको उपस्थिति थियो ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथि बसेलले शिव गौतमको उपचारका लागि अन्य लायन्स क्लबहरूसँग समेत सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले जन्मदिनमा रमाइलो गर्ने परम्परालाई परिवर्तन गर्दै समस्यामा परेका व्यक्तिलाई सहयोग गरेर पुण्य कार्यमा समर्पित भएको भन्दै बिना खड्कालाई धन्यवाद दिए ।
गौतम करिब ६ महिनाअघि लडेर घाइते भएका थिए । परिवारले उनलाई सुरुमा मणिपाल शिक्षण अस्पतालमा उपचार गराएका थिए । चिकित्सकको सल्लाहअनुसार ढाडको शल्यक्रिया गरेपछि केही समय घर फर्किएका गौतमको स्वास्थ्यमा पुनः समस्या देखिएपछि हरियोखर्क अस्पतालमा उपचारका लागि ल्याइएको हो ।
गौतम विगत चार महिनादेखि अस्पतालको बेडमै उपचाररत छन् । चिकित्सकका अनुसार उनको कम्मरदेखि तल्लो भागमा नसा चुटिएका कारण शरीरको तल्लो भाग अशक्त बनेको छ ।
स्वास्थ्यमा सुधार हुने सम्भावना न्यून रहेको बताइए पनि थेरापीबाट केही सुधार हुने आशा परिवारले राखेको छ ।परिवारका अनुसार उपचारका क्रममा घर तथा गाईवस्तुसमेत बिक्री गरेर खर्च जुटाइसकिएको छ । अहिले आफन्त तथा विभिन्न व्यक्तिको सहयोगबाट उपचार खर्च जुटाउँदै आएको परिवारले जनाएको छ ।
आर्थिक अवस्था कमजोर रहेका गौतमले आफू बाँच्न चाहेको बताउँदै उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनकी संस्थापक अध्यक्ष लायन रोजी श्रेष्ठले क्लबले विगत आठ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइन् । महिला सदस्य मात्रै रहेको क्लबले लायन्स डे तथा एकादशीको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।
क्लब अध्यक्ष लक्ष्मी ठकुरी न्यौपानेले क्लबका सदस्यहरूले आफ्नो जन्मदिनमा केही रकम छुट्याएर अशक्त तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिइन् । उनले कार्यक्रम संयोजक तथा क्लब सचिव लक्ष्मीदेवी शर्मालाई सहयोग कार्यक्रमका लागि बधाई दिइन् ।
जन्मदिनको अवसरमा सहयोग गरेकी बिना खड्काले लायन्स क्लबले गर्दै आएका सामाजिक कार्यबाट आफू प्रभावित भएको बताइन् । जन्मदिनमा खर्च गरेर रमाइलो गर्नुभन्दा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा आफूलाई अझ बढी खुसी लागेको उनले बताइन्