पोखरा, साउन २६ । लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोहीहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ।

श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर क्लबले पोखराको शहीदचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र साहसको स्मरण गरिएको थियो।

क्लब अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ आई नेपालका पूर्व गभर्नर लायन विनोद ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन्ट चिफ एडभाइजर लायन शान्ति थापा, डिस्ट्रीक्ट एसिस्टेन्ट चिफ एडभाइजर लायन सूर्यनारायण बराल, डिस्ट्रीक्ट चिफ कोअर्डिनेटर लायन विष्णुप्रसाद ढुंगाना, डिस्ट्रीक्ट एक्जिक्युटिभ लायन रोजी श्रेष्ठ, डिस्ट्रीक्ट एलका सिनियर लायन लिडर लायन अमृता बराल, डिस्ट्रीक्ट एमका रिजन चियरपर्सन लायन राजेन्द्र घिमिरेलगायतको उपस्थिति थियो।
कार्यक्रमका संयोजक तथा क्लबका संस्थापक अध्यक्ष लायन रोजी श्रेष्ठले बाराही टाउनले हरेक वर्ष शहीद तथा दिवंगत व्यक्तिहरूको सम्झनामा विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम गर्दै आएको बताउनुभयो।
प्रमुख अतिथि ढुंगानाले लायन्स क्लब अफ पोखरा बाराही टाउन महिला क्लब भए पनि डिस्ट्रीक्टमा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै उत्कृष्ट काम गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन क्लबलाई शुभकामना दिनुभयो।
क्लब अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेले बाराही टाउनको अध्यक्षको जिम्मेवारीमा रहेर समाजका लागि सत्कर्म गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउनुभयो। उहाँले सामाजिक सेवाका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन क्लब सचिव लायन लक्ष्मीदेवी शर्माले गर्नुभएको थियो भने कोषाध्यक्ष लायन सावित्री पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।