पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा बगेका दुई बालकमध्ये एकको पहिचान खुलेको छ।

प्रहरीका अनुसार स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१४, छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निकसन गुरुङ (निकसन) खोलाले बगाएका बालकमध्ये एक रहेको पुष्टि भएको हो। उनका बुवा चन्द्रबहादुर गुरुङ प्रहरीको सम्पर्कमा आएका छन्।
शनिबार दिउँसो करिब १ बजे विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४/१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको थियो।
अर्का बालकको भने हालसम्म कोही आफन्त वा परिवार प्रहरीको सम्पर्कमा आएका छैनन्। दुवै बालकको अवस्थाबारे थप जानकारी लिनुका साथै खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरी खोलामा खोजी भइरहेको छ।