पोखरा । लगातारको वर्षापछि कास्कीका विभिन्न स्थानमा पहिरो, सडक कटान, पुल क्षति तथा मानिस बेपत्ता भएका घटना भएका छन्।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) कास्कीका अनुसार अन्नपूर्ण गाउँपालिका–१० सिमैखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध अवस्था यथावत् रहेको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–१० स्याउलीबजारस्थित स्याउलीबजार र वडा नं. ७ हवेली जोड्ने झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग खोलाले बगाउँदा पुलमा पूर्ण क्षति पुगेको छ।
यसैगरी, पोखरा महानगरपालिका–२५ हेम्जा फुर्केटारीकी ४३ वर्षीया धनमाया विक साउन २९ गते साँझदेखि बेपत्ता भएकी छन्। अत्यधिक मदिरा सेवन गरी घरबाट निस्किएकी उनी हालसम्म घर नफर्किएको र सम्पर्कमा समेत नआएको प्रहरीले जनाएको छ।
पोखरा–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा करिब १४/१५ वर्षका दुई बालकलाई खोलाले बगाएको घटना पनि भएको छ। उनीहरूको पहिचान खुलेको छैन। खोजीका लागि खटिएको टोली साउन ३० गते साँझ ७ बजे फिर्ता भए पनि दुवै बालक फेला परेका छैनन्।
यसैगरी, माछापुच्छ्रे गाउँपालिका–१ तातोपानीस्थित तातोपानी–करुवा–मिर्चा हुँदै भलौदी जाने भित्री कच्ची सडक सेती नदीले करिब १०० मिटर कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, पोखरा महानगरपालिका–१६ जुगेमणीका ६० वर्षीय हिराबहादुर सुनार नालीमा डुबेको अवस्थामा फेला परेका थिए। उनका छोरा अर्जुन सुनारले उनलाई घरदेखि करिब १०० मिटर टाढा नालीमा अचेत अवस्थामा फेला पारेपछि उपचारका लागि मातृशिशु अस्पताल पुर्याएका थिए।
चिकित्सकले साउन ३१ गते राति १२ः१२ बजे मृत घोषणा गरेका थिए। पछि शव मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।