विजयपुर खोलामा बेपत्ता निक्सनको शव फेला पर्‍याे

पाेखरा । पोखरा महानगरपालिका–१४ ठुलीखोलास्थित विजयपुर खोलाले बगाएर बेपत्ता भएका १४ वर्षीय निक्सन गुरुङको शव फेला परेको छ।

गत साउन ३० गते दिउँसो करिब १ः२० बजे खोला तर्ने क्रममा स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडामा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा निक्सन गुरुङ र खोटाङ स्थायी घर भई पोखरा–चाउथेमा बस्दै आएका सुवास राईका छोरा १५ वर्षीय ओमन राईलाई विजयपुर खोलाले बगाएको थियो।

 

बेपत्ता दुवै जनाको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। साउन ३० गतेदेखि भदौ २ गतेसम्म विभिन्न स्थानमा खोजी गर्दा पनि उनीहरू फेला परेका थिएनन्।

 

भदौ २ गते स्थानीयवासीले घटनास्थलबाट करिब १ किलोमिटर ५ सय मिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र शव देखिएको जानकारी प्रहरीलाई दिएका थिए।
त्यसपछि नेपाली सेना कृष्णदल गण, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगमा दिउँसो २ः२६ बजे शव पानीबाट बाहिर निकालेको थियो।

 

शव पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको रहेको आफन्तले पहिचान गरेका छन्। मुचुल्का तयार गरी दिउँसो ३ः३० बजे शव पोस्टमार्टमका लागि पोखरा–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
ओमन राईको भने खोजी कार्य जारी रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...