पोखरा । पोखरा महानगरपालिकाका दुई महत्वपूर्ण सडक स्तरोन्नति तथा विस्तारका लागि प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोग तथा पोखरा महानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा अघि बढाइएको योजनाले अब ठेक्का प्रक्रियातर्फ जाने बाटो खुलेको पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन्।
उनका अनुसार योजनाअन्तर्गत पोखरा महानगरपालिका–७, १७ र २१ मा पर्ने तीनकुने–दोबिल्ला सडक खण्ड तथा वडा नं. ६ को हल्लनचोक हुँदै वडा नं. १८, २४ र २३ को घाटीछिनासम्मको सडक खण्ड स्तरोन्नति गरिनेछ।

वातावरणीय अध्ययन प्रतिवेदनअनुसार तीनकुने–दोबिल्ला सडक खण्डको लम्बाइ करिब ४.९ किलोमिटर र हल्लनचोक–पामे–घाटीछिना सडक खण्डको लम्बाइ करिब १३ किलोमिटर रहेको छ।
दुवै सडकलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय आवागमनका लागि सहज बनाउने उद्देश्यले स्तरोन्नति गर्न लागिएको हो। सडक स्तरोन्नतिपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै पोखराको पर्यटन विकासमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वातावरणीय अध्ययन प्रतिवेदनमा सडक निर्माण तथा स्तरोन्नतिका क्रममा स्थानीय वातावरणमा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि विभिन्न उपाय प्रस्ताव गरिएको छ। धुलो नियन्त्रणका लागि पानी छर्किने, निर्माण सामग्रीको उचित व्यवस्थापन गर्ने, अनावश्यक रूपमा रूख कटान नगर्ने, निर्माणजन्य फोहोर व्यवस्थित रूपमा विसर्जन गर्ने तथा जैविक विविधता संरक्षणमा विशेष सावधानी अपनाउने उल्लेख छ।
त्यसैगरी फेवा ताल तथा आसपासका संवेदनशील क्षेत्रमा निर्माण कार्य गर्दा वातावरणीय सावधानी अपनाउने, रातिको समयमा निर्माण कार्य नगर्ने, ताल तथा आसपासका खोलानालामा माछा मार्ने र वन क्षेत्रमा चोरी–शिकार रोक्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी नियमित अनुगमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सडक निर्माणका क्रममा स्थानीय बासिन्दाले रोजगारीका अवसर पाउने, स्थानीय सामाजिक तथा आर्थिक गतिविधि बढ्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रतिवेदनमा उल्लेख छ। सडक सञ्चालनमा आएपछि स्थानीय तथा पर्यटकका लागि आवागमन सहज हुनुका साथै सुरक्षित सडक सेवाका कारण जीवनस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
योजनाको निर्माण चरणमा सडक क्षेत्रमा पर्ने केही निजी जग्गा तथा संरचनासम्बन्धी विषय व्यवस्थापन गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित जग्गाधनी तथा स्थानीयवासीको सहयोग आवश्यक हुने जनाइएको छ।
महत्वपूर्ण पूर्वाधार आयोजना भएकाले सडक स्तरोन्नतिका क्रममा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीयवासीलाई पोखरा महानगरपालिका–१८ ले आग्रह गरेको छ। आयोजना कार्यान्वयनका क्रममा स्थानीयस्तरबाट आवश्यक सहयोग र समन्वय गरिने वडा अध्यक्ष शाहीले बताइन्।
उक्त सडक स्तरोन्नति आयोजना शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (URLIP) अन्तर्गत कार्यान्वयन हुने जनाइएको छ। आयोजनाका लागि पोखरा महानगरपालिकामा परियोजना कार्यान्वयन इकाइ (PIU) स्थापना गरिएको छ। डिजाइन तथा सुपरिवेक्षणका लागि परामर्शदाता टोलीसमेत परिचालन गरिएको छ।
लामो समयदेखि अपेक्षा गरिएको सडक स्तरोन्नति योजना अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएपछि यस क्षेत्रका बासिन्दामा उत्साह बढेको छ। ठेक्का प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढेपछि पोखराको सडक पूर्वाधार, स्थानीय आवागमन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।