काठमाडौँ, भदौ १० गते । सरकारले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । रसुवामा आएको बाढी पश्चात् सिंहदरबारमा बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । सरकारले उक्त घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाइते एवम् विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ । यसको व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई तोकिएको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले बाढी पश्चात् अवरुद्ध सडक, खानेपानी, विदुत सञ्चारको व्यवस्थापन तत्काल सुचारु गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।