पोखरा । पोखरामा यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव भदौ २० गते शनिबार आयोजना हुने भएको छ। नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठी कास्कीको आयोजनामा प्रतियोगिताको २७औँ श्रृंखला पोखरा–१६ स्थित लामाचौर चोकमा हुने भएको हो।

प्रतियोगिताबारे आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। तायाःमचा नाचको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष पोखरामा प्रतियोगिता आयोजना हुँदै आएको छ।
नेवारी समुदायमा परिवारका कुनै सदस्यको मृत्यु भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्रामा बाजागाजासहित प्रस्तुत गरिने नाचलाई तायाःमचा भनिन्छ। यस वर्ष गाईजात्रा भदौ १३ गते शनिबार परेको छ। गाईजात्राका दिन घर–घरबाट तायाःमचा निकालेर बजार परिक्रमा गराउने परम्परा रहेको छ।
गाईजात्राका दिन बजार परिक्रमा गर्दा रात पर्ने भएकाले त्यसपछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। “सबैको सहजताका लागि गाईजात्रापछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता राखिएको हो,” उनले भने।
विगत २७ वर्षदेखि हुँदै आएको प्रतियोगिता पहिलोपटक लामाचौरमा आयोजना हुन लागेको हो। यसअघि पोखराको भैरवटोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार, लेखनाथलगायत क्षेत्रमा प्रतियोगिता आयोजना भइसकेको छ।
पहिलोपटक लामाचौरमा प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले यसलाई ऐतिहासिक बनाउने प्रयास भइरहेको प्रतियोगिताका मूल आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले बताए। “यो हाम्रो संस्कृति हो। यसको संरक्षण, प्रवद्र्धन र संवद्र्धन गर्दै नयाँ पुस्तालाई आकर्षित गरेर तायाःमचा संस्कृति पुस्तान्तरण गर्नु हाम्रो उद्देश्य हो,” उनले भने।
यस वर्ष प्रतियोगितामा ३८ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ। तीमध्ये १२ वटा महिला टिम रहने लामाचौर नेवाः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठ ‘युगीन’ले जानकारी दिए।
नेवाः खल कास्कीका अध्यक्ष पालिखेका अनुसार अप्रतियोगी टिमसहित ४० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा ३८ टिमले प्रतिस्पर्धा गर्नेछन्। बाटुलेचौर र छोरेपाटनले पहिलोपटक सहभागिता जनाउनेछन् भने आयोजक लामाचौरले अप्रतियोगीका रूपमा प्रस्तुति दिनेछ।
कास्कीमा नेवाः खलका ४८ वटा कचाः खल (शाखा) रहेको अध्यक्ष पालिखेले बताए। बाँकी आठ कचाः खलमा नेवार समुदायको पातलो बस्ती तथा बसाइँसराइका कारण तायाःमचा नाच निकाल्न नसकिएको उनले बताए।
नेवार समुदायको बसोबास रहेका हरेक टोलमा तायाःमचा निकाल्ने वातावरण बनाउन प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको भनाइ छ। यसले तायाःमचा संस्कृतिलाई जीवन्त राख्न सहयोग पुग्ने तथा पर्यटकको पोखरा बसाइँसमेत लम्ब्याउन योगदान पुग्ने अध्यक्ष पालिखेले बताए।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महिलातर्फ विजेताले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टिमले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रोत्साहन रकमसमेत प्रदान गरिनेछ।
पुरस्कारका लागि आवश्यक १० लाख रुपैयाँ पोखरा–३, तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गीय माता–पिता हेमप्रसाद श्रेष्ठ र बालकुमारी श्रेष्ठको स्मृतिमा प्रदान गर्ने भएका छन्। बाँकी रकम प्रायोजक तथा सहयोगीबाट संकलन गरिने लामाचौर कचाः खल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए।