पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली तथा नारायणी नदीको किनारमा फेला परेका र पोखरा ल्याइएका पहिचान नखुलेका ७६ शवको व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाढीपछि गोरखा, तनहुँ, धादिङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका नदी किनारमा फेला परेका शव पोखराको रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको शवगृहमा राखिएका थिए।
पहिचान खुल्न नसकेका शवलाई पोखरा महानगरपालिका–१६, उपल्लो दिप सिसौघारीस्थित सिँचाइको सरकारी जग्गामा व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरी शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ १६ गते दिउँसो ४ बजे शव व्यवस्थापनको काम सम्पन्न भएको हो।
कास्कीमा बाढीपछि विभिन्न जिल्लाबाट जम्मा १०२ वटा शव ल्याइएको थियो। तीमध्ये २१ वटा शव पहिचान तथा सनाखत भई आफन्तले बुझिसकेका छन्। आफन्तले बुझेका शवमध्ये धादिङबाट आएका ४, नवलपरासी (पूर्व)बाट १२, गोरखाबाट ४ र तनहुँबाट आएको १ वटा शव रहेका छन्।
त्यस्तै, ७६ वटा पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये धादिङबाट प्राप्त २२, गोरखाबाट ७, नवलपरासी (पूर्व)बाट २५ र तनहुँबाट २२ वटा रहेका छन्।
अझै ५ वटा शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा होल्डमा राखिएका छन्। तीमध्ये धादिङबाट प्राप्त १ र नवलपरासी (पूर्व)बाट प्राप्त ४ वटा शव रहेका छन्।
प्रहरीका अनुसार होल्डमा रहेका शवहरूको कोड BKD-81, BKD-77, BKD-47, BKD-78 र BKD-36 रहेको छ।
यससँगै पोखरामा बाढीपछि ल्याइएका शवको व्यवस्थापनको मुख्य चरण पूरा भएको छ। पहिचान भएका शव आफन्तलाई बुझाउने तथा आवश्यक प्रक्रिया अघि बढाउने काम भने निरन्तर रहने प्रहरीले जनाएको छ।