याम्दी खोलाको भिरबाट लडेर २२ वर्षीया महिला गम्भीर घाइते

पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी खोलाको भिरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्।

बुधबार बिहान करिब ८ः१० बजे भिरबाट महिला कराएको आवाज सुनिएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको संयुक्त टोली उद्धारका लागि खटिएको थियो।

 

खोजी गर्ने क्रममा हेम्जा चौरबाट करिब ३०० मिटर तल याम्दी खोलाको खोँच किनारमा पोखरा–२५ बुद्धचोक बस्ने २२ वर्षीया देवी सुनार घाइते अवस्थामा फेला परेकी हुन्।

 

प्रहरीका अनुसार उनको ढाड तथा दुवै हातखुट्टामा चोट लागेको छ। बोल्न नसक्ने अवस्थामा रहेकी सुनारको अवस्था गम्भीर रहेको बताइएको छ।

 

घाइते सुनारलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल, कास्की पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...