पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा चार दाबेदार, चुनावी सरगर्मी बढ्यो

पोखरा । पोखराको पुरानो सामाजिक–व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। महाधिवेशनमार्फत संघको नेतृत्वमा पुगेर उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने लक्ष्यसहित चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन्। आचार्य र गौतम प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् भने पोखरेल र बुद्धाचार्य एकल उम्मेदवारका रूपमा मैदानमा छन्।


निर्वाचनको माहोल तातिरहेका बेला पोखराको सिटीवान टेलिभिजनले बुधबार ‘चार दाबेदार, एउटै प्रश्न’ शीर्षकमा बहस कार्यक्रम आयोजना गरेको छ। टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठको सहजीकरणमा भएको कार्यक्रममा अध्यक्षका प्रत्याशी पोखरेल, आचार्य र बुद्धाचार्य सहभागी भएका थिए।

 

कार्यक्रममा उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको औचित्य, संघको आगामी भूमिका तथा उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आफूले अघि सारेका योजना सार्वजनिक गरे। पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो।
बहसमा पोखरा र यहाँका व्यवसायीको हितमा पोखरा उद्योग वाणिज्य संघले विगतमा खेलेको भूमिका तथा आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भएको थियो।

 

अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई ‘ग्रेटर पोखरा’को अवधारणाअनुसार अझ व्यापक र समावेशी संस्थाका रूपमा विकास गर्नुपर्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न राज्यका सम्बन्धित निकायसँग निरन्तर व्यावसायिक संवाद र दबाब कायम राख्ने उनको प्रतिबद्धता छ।

 

साना, मझौला र ठूला सबै तहका उद्योगी–व्यवसायीलाई समेटेर संघलाई साझा घरका रूपमा विकास गर्ने बताउँदै उनले व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत अड्चन हटाउन संघका तर्फबाट सशक्त पैरवी गर्ने योजना सुनाए।
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई पोखरामै रोक्दै उद्यमशीलतामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने पनि पोखरेलले बताए। संघ विधानअनुसार सञ्चालन हुनुपर्ने विषयमा आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले यस विषयमा आफू अडिग रहेको स्पष्ट पारे।

 

उत्तममान बुद्धाचार्यले १७ बुँदे प्रतिबद्धतासहित चुनावी मैदानमा आएको बताए। व्यवसायीका लागि एकद्वार सहायता केन्द्र स्थापना, व्यावसायिक डाटा बैंक निर्माण तथा एआई र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको उनले बताए।

 

युवा तथा महिला उद्यमशीलता प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्ने योजना अघि सारेका बुद्धाचार्यले पोखरा प्रमुख पर्यटकीय गन्तव्य भएकाले पर्यटन क्षेत्रमा थप सम्भावना खोज्नुपर्ने बताए। उनले खेल पर्यटनमा लगानी विस्तार गर्ने सोचसमेत सुनाए।
‘ग्रेटर पोखरा’को अवधारणामार्फत गाउँघरमा उत्पादन हुने वस्तुको बजार विस्तार तथा बजारीकरणमा सहयोग गर्ने योजना पनि उनले प्रस्तुत गरे।

 

बलराम आचार्यले पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै पुरानो सामाजिक–व्यावसायिक संस्था भएकाले यसको गरिमा र साखलाई थप उचाइमा पुर्‍याउनु आफ्नो प्रमुख दायित्व हुने बताए।
संस्थालाई थप मजबुत बनाउँदै सम्पूर्ण व्यवसायीको हकहितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले पोखरामा करिब २० हजार व्यक्ति व्यवसायमा संलग्न रहे पनि संघको सदस्यता अपेक्षाकृत कम रहेको बताए। धेरैभन्दा धेरै व्यवसायीलाई संघमा जोड्ने अभियान सञ्चालन गर्ने उनको योजना छ।

 

युवा उद्यमीलाई उद्यमशीलतामा अघि बढ्न आवश्यक सहजीकरण गर्ने तथा अर्धवार्षिक रूपमा रोजगार मेला आयोजना गर्ने योजना पनि आफ्नो टिमले अघि सारेको आचार्यले जानकारी दिए।
अध्यक्षकी प्रत्यासी शोभा गौतम भने कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको आयोजक सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिइन्।

 

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्। अध्यक्ष पदमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा रहेकाले यसपटकको निर्वाचनलाई व्यवसायीमाझ विशेष चासोका साथ हेरिएको छ। पदाधिकारी तथा सदस्य पदमा समेत तीव्र प्रतिस्पर्धा देखिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...