काठमाडौं, भदौ १८ गते । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०’ए’ ठूलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। सोही विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ समेत नेपाल आउनुभएको छ । उहाँहरुले बाढीमा ज्यान गुमाउनुभएकाको पहिचान प्रक्रियामा नेपाललाई सहयोग गर्नुहुनेछ ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी हुनुहुन्थ्यो । मन्त्री पुनले चिनियाँ विज्ञ टोलीको स्वागत गर्नुभएको थियो । चीनबाट ल्याइएका राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुलगायत नेपालमा तत्काल आवश्यक सामग्री छन्।

तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि नेपाललाई अत्यावश्यक रहेका बेली ब्रिज समेत समावेश छन्। पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा आइपुगेको जनाइएको छ।