माछापुच्छ्रेमा पहिरोमा परी दुई जनाको मृत्यु, एक घाइते

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ परतमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नव निर्मित सुपर सेती हाइड्रोपावरको सडक खन्ने क्रममा शनिबार बिहान करिब ११ बजे अचानक माथिबाट पहिरो खसेको थियो।

पहिरोमा परी हाइड्रोपावरमा कार्यरत तीन जना घाइते भएका थिए।
घाइतेमध्ये धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएका २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ घर भएका २७ वर्षीय किसान राईको उपचारका क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगरको घुँडामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
घाइतेहरूलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएका थिए। घटनाको जानकारी पाएपछि प्रहरी चौकी सर्दीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

घटनास्थल प्रहरी चौकी सर्दीखोलाबाट करिब १२ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...