भारी वर्षाको सम्भावनापछि कास्कीमा विपद् पूर्वतयारी तीव्र भारी वर्षाको सम्भावनापछि कास्कीमा विपद् पूर्वतयारी तीव्र

पोखरा । भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको बैठकले जनधनको क्षति न्यूनीकरण तथा विपद् पूर्वतयारीका विभिन्न निर्णय गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कुमान सिंह गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ गतेदेखि असोज ११ गतेसम्म कास्की लगायत देशका विभिन्न भूभागमा भारी, अति भारी तथा उच्च भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउने निर्णय गरेको हो।

 

बैठकले भारी वर्षाका कारण हुनसक्ने सम्भावित विपद्का घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विषयगत निकाय, संघसंस्था तथा नागरिक समाजलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।

 

समितिले नदी तथा खोलाको तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा ट्रेकिङ र पदयात्रामा नजान पनि अनुरोध गरिएको छ। यसअघि पदयात्रामा गइसकेकालाई सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।

 

त्यस्तै, मौसम प्रतिकूल रहेको अवस्थामा साहसिक खेल सञ्चालनमा रोक लगाउने र जल पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन नगर्ने निर्णय गरिएको छ।विपद् खोज तथा उद्धारका सामग्री, जनशक्ति, उपकरण तथा राहत सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

 

भारी वर्षाको सम्भावना रहेको अवधिभर रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत गरिएको छ। यस्तै, दिउँसो ४ बजेपछि जोखिमपूर्ण ग्रामीण सडकमा सवारीसाधन सञ्चालन नगर्न भनिएको छ।

 

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई उच्च सतर्कता अपनाउन सूचित गर्ने र आवश्यकता अनुसार विद्यालय बन्द गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

 

त्यस्तै, जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले सम्भावित सुरक्षित स्थानको पहिचान गरी आवश्यक तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि गरिएको छ।

समितिले सम्भावित विपद्का घटनामा तत्काल खोज, उद्धार तथा राहत कार्य सञ्चालन गर्न सबै सम्बन्धित निकायलाई समन्वय र पूर्वतयारीसहित परिचालित हुन आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...