पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गर्नुभएको छ।

वडा तहबाट नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गर्नुभएका बास्तोलाले पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ का वडाध्यक्षसमेत भइसक्नुभएको छ।
त्यसैगरी, १४औँ महाधिवेशनमा बास्तोला गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो। कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि यही असोज १० गते निर्वाचन हुने कार्यतालिका छ।
उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी तथा प्रतिबद्धताको यात्रा भएको बताउनुभएको छ।
उहाँले अग्रजहरूको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवा पुस्ताको जोश, ऊर्जा र नवीन सोचलाई पार्टीसँग जोडेर अघि बढ्ने बताउनुभयो।
“संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा म निरन्तर लागेको छु। अझै पनि सक्रिय रहेर देश र नेपाली कांग्रेसका लागि काम गर्नेछु,” बास्तोलाले भन्नुभयो।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको जनाउँदै बास्तोलाले अग्रज, साथीभाइ, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूको माया, सद्भाव र विश्वासका लागि अपिल गर्नुभएको छ।
