पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ भने वडा कार्यालयसहित आसपासका संरचना जोखिममा परेका छन्।

आइतबार बिहान करिब ६ः५० बजे वडा कार्यालयको दक्षिणतर्फ करिब १० मिटर परबाट पहिरो खसेको हो। पहिरोका कारण स्थानीय गंगा भण्डारी देवकोटाको घरका तीनमध्ये एउटा कोठा भत्किएर पूर्ण रूपमा क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) कास्कीले जनाएको छ।
पहिरोपछि घरमा बस्दै आएका तीन जनाको परिवारलाई छिमेकीको घरमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन।पहिरोबाट आएको लेदो पोखरा–बागलुङ सडकखण्डमा समेत पुगेको थियो। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल नयाँपुल प्रहरी चौकीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ। थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
