पोखरा विमानस्थलमा कम दृश्यतामा उडान गराउने प्रक्रिया अघि बढाइँदै

पोखरा । प्रतिकूल मौसमका कारण उडान अवतरणमा समस्या हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (RNP-AR) प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भएको जनाएको छ।


विमानस्थलको आसपासमा रहेको पहाडी भू–बनोट र प्राविधिक सीमितताका कारण कम दृश्यता हुँदा उडान सञ्चालनमा चुनौती आउने गरेको छ। यस्तो अवस्थामा उडान अन्यत्र मोड्नुपर्ने, अवतरणको प्रयास असफल हुने वा उडान रद्द गर्नुपर्ने अवस्था आउने गरेको छ।

हाल पोखरा विमानस्थलमा भीओआर/डीएमई (VOR/DME) तथा आईएलएस (ILS) प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। कम दृश्यतामा उडान सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न प्राधिकरणले भूउपग्रहमा आधारित नेभिगेसन प्रणालीअन्तर्गत आरएनपी–एआर प्रक्रिया लागू गर्ने तयारी गरेको हो।

प्राधिकरणका अनुसार नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याउन विस्तृत प्राविधिक डिजाइन, प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृति आवश्यक पर्नेछ। यी प्रक्रिया पूरा भएपछि मात्रै प्रणाली लागू गर्न सकिनेछ।

आरएनपी–एआर प्रक्रिया लागू भएमा उडान अवतरणका लागि आवश्यक न्यूनतम दृश्यताको सीमा घट्न सक्ने प्राधिकरणको भनाइ छ। यसले प्रतिकूल मौसमका कारण हुने उडान डाइभर्सन, अवतरण प्रयास असफल हुने अवस्था र उडान रद्द हुने समस्या कम गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि, प्रणाली कार्यान्वयनको समयसीमा र यसबाट दृश्यताको सीमा कति घट्ने भन्ने विवरण विज्ञप्तिमा उल्लेख छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले २०८३ असोज २९ गते जारी गरेको विज्ञप्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रक्रिया लागू गर्न आवश्यक काम अघि बढाइएको जनाइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...