बागलुङ, चैत २० गते । युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको अभियान अन्तर्गत बागलुङ नगरपालिका वडा नं. २ स्थित रुद्रेपीपल माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन गरिएको छ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा एक दिने वित्तीय साक्षरता तालिम सञ्चालन गरी सहकारी बाल क्लव गठन गरिएको विद्यालयले जनाएको छ ।
बैंकले वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको वार्षिक कार्यक्रम अन्तरगत प्रत्येक शाखाले एक एक वटा विद्यालयमा बाल क्लव गठन गरी विद्यार्थीहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्ने बैंकले जनाएको छ ।
विद्यार्थीहरुको भेलाले कक्षा ८ मा अध्ययनरत सलन आचार्यको अध्यक्षतामा ११ सदस्यीय सहकारी बाल क्लव गठन भएको हो । क्लवको उपाध्यक्षमा कक्षा ८ का खुशी नेपाली, सचिवमा कक्षा ७ का सामना सापकोटा, सहसचिवमा कक्षा ७ कै कुशल नेपाली तथा कोषाध्यक्षमा कक्षा ६ का ज्ञानु श्रीस चयन हुनु भएको छ । क्लवका सदस्यहरुमा कक्षा ६ का सुहानी खत्री, चादनी शाह र किर्तन घर्ति तथा कक्षा ८ का सभ्यता सुनार, विश्व नेपाली र अप्सन पौडेल रहनु भएको छ । क्लवको संरक्षकमा विद्यालयका शिक्षक प्रकाश आचार्य रहनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी बाल क्लवको आवश्यकता, गठन प्रक्रिया र क्लवले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सहकारीमार्फत समाज रुपान्तरणका लागि युवा विद्यार्थीहरुलाई जागरुक बनाउन, वित्तीय रुपमा सचेत बनाउन तथा समुदायमा नयाँ पुस्तालाई सकारात्मक क्रियाकलापमा लगाउनका लागि क्लवको गठन गरिएको बताउनुभयो ।
बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले वित्तीय साक्षरता सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले सहकारी बैंकले रुद्रपीपल माविलाई चयन गरी विद्यार्थीहरुलाई सहकारी सचेतना र सहकारीको महत्वका बारेमा सहजीकरण र क्लव गठन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।