पोखरा, बैशाख ८ गते । सरकारले आजदेखी व्यक्तिगत घट्ना र सामाजिक सुरक्षा कार्यक्रमका खातिर संचालित दर्ता शिविरमा अनिवार्य सहभागी हुन आम नागरिकहरुलाई आग्रह गरेको छ ।
देशभर एकसाथ सुरु गरिएको यस कार्यक्रममा सहभागी भई व्यक्तिगत घट्ना (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराँई) को अभिलेखिकरणमा सहयोग गर्न सरकारले आग्रह गरेको हो । यस कार्यक्रम मार्फत सामाजिक सुरक्षा भत्ता लिन छुटेका योग्य लाभग्राहीहरुको विवरण समेत संकलन गरिने भएकाले सोका लागि समेत दर्ता शिविरमा सहभागी हुन सरकारले आग्रह गरेको छ ।
०७८ वैशाख २१ गतेसम्म संचालन गरिने यस शिविर मार्फत व्यक्तिगत घट्ना दर्ताका लागि सुचना दिने, सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिने र व्यक्तिगत घट्ना तथा सामाजिक सुरक्षा सम्बन्धि गुनासो दर्ता गर्ने उद्देश्य लिईएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
यता पोखरा महानगरपालिकाका ३३ वटै वडामा यो शिविर संचालन गरिएको महानगरले जनाएको छ । वडावासीहरुलाई यस शिविरमा सहभागी भई तोकिए बमोजिमको सेवा तथा सुविधा लिने प्रक्रियाको प्रारम्भिक कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले आग्रह गरे ।
शिविर वैशाख २१ गतेसम्म संचलन गरिने र त्यसपछि दुई दिन स्थानिय जनप्रतिनिधि सहित घरदैलो कार्यक्रम संचालन गरिने अध्यक्ष बास्तोलाले जनाकारी दिए । उनका अनुसार व्यक्तिगत घट्ना जन्मदर्ताका लागि बाबुआमाको नागरिकता र विवाह दर्ताको फोटोकपी, शिशु जन्मिएको अस्पतालको कार्ड तथा मृत्युदर्ताका लागि मृतकको नागरिकताको फोटोकपी, सुचकको नागरिकताको फोटोकपी र अस्पतालमा मृत्यु भएकोभए अस्पतालको कार्ड आवश्यक पर्नेछ ।
यस्तै विवाह दर्ताका लागि वरवधुको नागरिकताको फोटोकपी, वरवधुको आमाबुबाको नागरिकताको फोटोकपी र बसाईसराँईका लागि बसाईसराँई गर्नेको नागरिकताको फोटोकपी र नागरिकता नभए जन्मदर्ताको फोटोकपि आवश्यक पर्ने जनाईएको छ । यस्तै सम्बन्धविच्छेदका लागि भने अदालतको निर्णय, विवाह दर्ता र श्रीमान श्रीमतिको नागरिकताको फोटोकपी लिएर आउन आग्रह गरिएको छ ।
पा्ेखरा ४ मा यस दर्ता शिविरका लागि कम्प्युटर अपरेटर विमला कोईराला, तथ्यांक संकलकद्धय कृष्णकला पोखरेल र हेमन्तराज पराजुली खटिएका वडा सचिव राम खत्रीले जनाकारी दिए ।