कास्की जिल्ला तेक्वान्दो संघको अध्यक्षमा कुमार गुरुङ

पोखरा, साउन ३० गते ।कास्की जिल्ला तेक्वान्दो संघमा १४ वर्षपछि नेतृत्व परिर्वतन भएको छ । लामो समय संघको नेतृत्व गर्नुभएका जगनबहादुर गुरुङले जिल्लाको नेतृत्वमा नरहने बताएपछि १२ औ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । संघको शुक्रबार पोखरामा सम्पन्न अधिवेशनले कुमार गुरुङलाई अध्यक्षमा चयन गरेको छ ।अधिवेनले गुरुङलाई निबिरोध रुपमा अध्यक्ष चयन गरेको हो ।

गुरुङ यसअघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा दीपेन्द्र पहारी र कोषाध्यक्षमा किरण गौतमलाई निर्विरोध चयन गरेको हो । त्यस्तै सदस्यहरुमा प्रितम कुवँर, रेखमाया गुरुङ, निसान माझी, र कृष्ण महर्जनलाई चयन गरेको छ । निर्वाचत समितिका संयोजक जगन्नाथ ढकालले सबै पदमा एक जना बाहेक अरुको उम्मेदवारी नपरेको बताउदै समितिको नाम घोषणा गर्नुभएको हो ।

यसअघि अधिवेशनको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै मन्त्री गुरुङले खेलकुदको विकासका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।उहाँले युवा तथा खेलकुद मन्त्रालय भर्खरै स्थापना भएकाले काम गर्न केही कठिनाई रहेको बताउदै खेलकुदको विकासका लागि सघहरुसंग मिलेर अगाडी बढने बताउनुभयो । उहाँले ८ करोड रहेको खेलकुद मन्त्रालयमा ४० करोडको बढी पुगेको बताउदै उहाँले भन्नुभयो, ‘हामीसंग पैशा छ तर मार्सल आर्टका खेलको पूर्वाधार विकासका लागि सबै मिलेर आउनुस ।’

गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेलाडीलाई खेलकुदबाटै बाच्ने आधार सृजना गर्नुपर्ने बताउदै सबैको सहभागीताले खेल संस्कृतिको विकास हुनेमा जोड दिनुभयो । समृद्ध गण्डकी प्रदेशको पहिचान बनाउन खेलकुदलाई महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडीलाई खोप उपलब्ध गराएर खेलाडीलाई मैदान उत्तार्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका सदस्यसचिव तेजबहादुर गुरुङले खेलाडी उत्पादन, सबैका लागि खेलकुद, सीप अभिबृद्धि र पूर्वाधार निर्माणलार्ई गर्ने कार्ययोजना सहित परिषद अगाडी बढेको जानकारी दिनुभयो । उहाँले राज्यले पैशा खन्याएर मात्रै खेलकुदको विकास नहुने बताउनुभयो ।

कार्यक्रममा तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेल, संघका केन्द्रीय सदस्य मदन केसी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, संघका उपाध्यक्ष निर्मला बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रम तेक्वान्दो संघ कास्कीका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...