काठमाडौँ, कात्तिक ६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि सङ्कटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभएको छ ।
कृषिसँग विभिन्न सङ्घसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनस्र्थापनाको प्याकेज घोषणाका लागि शुक्रबार बुझाएको अनुरोधपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको छ । कृषि मन्त्रालयले देशैभरिबाट कृषिमा भएको भएको क्षतिको विवरण सङ्कलन गरिरहेको छ । विवरण आइसकेपछि अवस्था हेरेर किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने धारणा राख्नुभएको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो । किसानलाई आवश्यक राहत पाउनेछन् । कृषि सङ्कटकाल घोषणा गरेर भए पनि क्षति भएको आधारमा हामीले सबैलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनेछौँ, मन्त्री यादवको भनाइलाई उद्धृत गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “कृषि क्षेत्रमा बर्सेनि भइरहेको क्षतिलाई रोक्नका लागि दीर्घकालीन रूपमा किसान राहत कोषको स्थापना गर्नेछौँ । ”
बाढीबाट पीडित किसानलाई सङ्घ र प्रदेशले मिलेर राहत प्रदान गर्ने बताउँदै मन्त्री यादवले बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको बारेमा प्रदेश सरकारले पनि अध्ययन गरिरहेको छ, आफूहरूले छुट्टै अध्ययन सुरु गरेको बताउनुभयो । सरकारले बीमामा सहुलियत दिएको छ तर किसान त्यसप्रति आकर्षित नभएको बताउनुभयो । बाली तथा पशुपन्छी बीमाप्रति किसानलाई आकर्षित गराउनका लागि कृषि मन्त्रालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बीमा गर्न सरल बनाउने उहाँले बताउनुभयो । कृषिलाई मर्यादित पेसा बनाउन किसानलाई सक्षम बनाउनुपर्ने आवश्यकता रहेको र त्यसका लागि पनि मन्त्रालयले काम गर्ने उहाँले बताउनुभयो ।