पोखरा, मंसिर १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले नागरिकले महसुस गर्ने गरी काम गर्दै आएको भनाइ राखे । सरकारमा आएको ५ महिनाको अवधिमा कुनै बाटो बन्ने पुल बन्ने काम हुन नसके पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भनाइ राखे ।
यसै अभियान अन्तर्गत कोभिडले अभिभावक गुमाएका बालबालिकालाई राहत प्रदान गरिएको भनाइ उनको थियो । मुख्यमन्त्रीले भने, ‘हामी बालबालिकाका अभिभावक त दिन सक्दैनौं, तर ती बालबालिकालाई हामी अभिभावकत्व त दिन सक्छौं नि भनेर यो काम थालेका हौं ।’
कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधि पनि तयार भइसकेको र छिटै नै रकम हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताए । बजेट र नीति तथा कार्यक्रममा उल्लेख गरिएका सबै प्रतिबद्धता पूरा गर्न अधिकांश कार्यविधि बनिसकेको भन्दै उनले अब धमाधम बजेट कार्यान्वयनमा जाने उल्लेख गरे ।
कठीन परिस्थितिमा सरकार बनेको र छोटो अवधिमा बजेट ल्याउनु परेको भन्दै उनले विगतका सरकारले दायित्व सिर्जना गरेर छाडेका योजनाले नै नयाँ योजना ल्याउन नसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘अहिले हाम्रो नेतृत्वको सरकारले ल्याएको ठूलो योजना भनेको डेढगाउँ– झ्यालवास सडक हो, उत्तरबाट दक्षिण छिचोल्ने बाटोको टुंगो बल्ल लागेको छ ।’
प्रदेश सरकारले गाडीमा अनावश्यक खर्च गरेको सवालमा उनले सरकारले पूर्णरुपमा मितव्ययिता अपनाएको दाबी गरे । अहिले गठबन्धनको सरकार बनेको बेलामा मन्त्रालय थपिएको र प्रति मन्त्रालय एउटा गाडी दिँदैमा अनावश्यक खर्च ग¥यो भनेर भन्न नमिल्ने उनको भनाइ थियो । मुख्यमन्त्रीले भने, ‘तपाईंहरुले सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सक्नुहुन्छ, हामीले के र कसरी दुरुपयोग गरेका छौं, त्यो देखिइहाल्छ नि ।’
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारले चालेका कदमको प्रशंसा गरे ।शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मानिस जिवित रहँदै उनको स्याहार सुसार र उपचार हुनुपर्ने भन्ने सामाजिक मान्यताबाट प्रेरित भएर प्रदेश सरकारले काम गर्दै आएको भनाइ राखे । कोभिडले अभिभावक गुमाएका बालबालिकाको शिक्षाको दायित्व सरकारले दिनकै लागि मासिक ५ हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ थियो । यसैगरी प्रदेशका हरेक घर लैंगिक हिंसामुक्त बनाउनका लागि नागरिकस्तरबाटै पहल हुने र त्यसमा सरकारको साथ रहने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष राजु अधिकारीले सभ्य र जिम्मेवार समाज निर्माणको अभियानमा आफूहरु जुटेको र त्यसमा संघ, प्रदेश र स्थानीय सरकारहरुबाट सहयोग हुँदै आएकोमा खुसी व्यक्त गरे ।गैरसरकारी संस्था महासंघ गण्डकी अध्यक्ष बिना सिलवालले समाजलाई लैंगिक हिंसामुक्त बनाउने अभियान आफैबाट आजै सुरु गरिहाल्नुपर्ने भनाइ राखिन् । मन्त्रालयको महाशाखा प्रमुख जमुना पौडेल, तोयानाथ लम्सालले उक्त अवसरमा भनाइ राखेका थिए ।