पोखरा, पुस ४ गते । मुस्कुराई रहेका हिमाल श्रुखला । हरियाली जंगल अनि ढुंगाले छाइएका पुरा घरहरुको दृश्य । त्यही दृश्य नियाल्दै फुटबल खेलको मज्जा समेत लिन पाइने गरी पोखरा महानगरपालिको सबैभन्दा अग्लो स्थानमा यित बेला फुटबल मैदान निर्माणको काम धमाधम भैरहेको छ ।
पोखराको १७ सय मिटको उचाईमा निर्माणाधिन फुटबल मैदान निर्माण अन्र्तगत अहिले जमिनको लेबल मिलाउने काम र त्यसको लागि वाल लगाउने काम भैरहेको छ ।
अघिल्ल्लो आर्थिक वर्षको ५० लाख बजेटले अहिले काम भैरहेको छ भने यस थप ४० लाख रुपैयाँ महानगरले विनियोजन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सिम गुरुङका अनुसार गत वर्षकै बजेटको काम अहिले भैरहेको छ । अव त्यो काम सम्पन्न हुने वित्तिकै चालु आर्थिक वर्षको बजेटको कामका लागि टेण्डर हुने छ ।
महानगरपालिका वडा नम्वर २० आँटीघर मौजामा हाई अल्टिच्युड फुटबल मैदान निर्माणको अघिल्लो वर्ष शिलान्यास गरेर काम भैरहेको छ । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर, त्यही अनुसार चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
विस्तृत परियोजना प्रतिवेदन अनुसार १६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा जमिन सम्याउने र चारै तीरबाट कंक्रिटवाल निर्माण गर्ने काम भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
गत वर्ष मैदानको लेवल मिलाउने काम भएको छ उहाँले भन्नुभयो,‘चालु आवको बजेटले दुई देखि पाँच मिटर माटो उत्खनन गरेर प्लेन बनाउने र प्लम कंक्रिटवाल लगाएर खेल्न योग्य बनाउने हो ।’ यसलाई प्रत्येका वर्ष बजेट व्यवस्था गरेर जाने छौ उहाँले भन्नुभयो, ‘पाँच वर्षमा योजना सम्पन्न हुन्छ भन्ने लागेको छ ।’
फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ ।
मौजा महानगरपालिकाको दुर्गम वडाको रुपमा चिनिन्छ । सडक सञ्जालले छोएपनि प्रभावकारी भने छैन । बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन आर्थिक वर्ष २०७६ मा साँढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो ।
‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’वडा नम्वर २० का वडा अध्यक्ष सिम गुरुङले भन्नुभयो,–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ६० रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । कास्कीकै अग्लो स्थानको फुटबल मैदानबाट उत्तर तर्फ मानवबस्ती छैन । घनाजंगल छ । त्यहाँबाट हिमाल नजिकै देखिन्छ ।
वडाध्यक्ष गुरुङ भन्नुहुन्छ ‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसन हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान बन्ने छ ।