खोटाङका चार स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी

काठमाडाैँ- खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्‌वारविरुद्ध बागी उम्मेदवारी परेको छ।

ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ।

गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेदवार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेदवारी दिएका हुन् ।

ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ।

बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेदवारी परेको छ।

पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध एमाले बराहपोखरी गाउँपालिका अध्यक्ष दीर्घबहादुर मगरले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष चुनिएकी गोमादेवी अध्यक्ष र कांग्रेसबाट एमाले प्रवेश गरेका जीवन राई उपाध्यक्षको उम्मेद्वार बनाइएपछि असन्तुष्ट दीर्घले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुरेश राई र विश्वराज राईले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसबाट गाउँपालिका अध्यक्ष नइन्द्र राई उम्मेद्वार बनेको अवस्थामा कांग्रेसकै कार्यकर्ता सुरेशले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयरको उम्मेदवारी दिने सहमति थियो।

तर, मेयरमा कांग्रेसकै तीर्थराज भट्टराई र धर्मराज पोखरेलको उम्मेदवारी दर्ता भएको छ। टिकटमा कांग्रेसबीच भएको विवादपछि माओवादी केन्द्रकातर्फबाट मेयरमा दुर्गाजयन्ती राईले पनि उम्मेद्वारी दिएकी छन्।

माओवादी केन्द्रकै नेता विकास राईले पनि स्वतन्त्र मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारका विषयमा कांग्रेसभित्रको किचलो देखेर जनता समाजवादी पार्टीका सूर्यबहादुर राईले मेयर र नेकपा एकीकृत समाजवादीका भागवत घिमिरेले उपमेयरमा उम्मेदवारी दिएका छन्।

यद्यपि, उम्मेदवारको नाम फिर्ता लिने समयभित्र छलफल गरेर आधिकारिक उम्मेदवारलाई मात्र चुनावी मैदानमा उतार्ने गठबन्धन दलको तयारी छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...