नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्मानित नेता खनालले व्यवहारमा लैंगिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताए । उनले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पारे । उनले समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने बताए । हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।
सम्मानित नेता खनालले अहिले देशमा निर्वाचन आइरहेको भन्दै आफ्नो पार्टीले निर्वाचनमा बढीभन्दा बढी महिलाहरु सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । उनले अझै पनि पार्टी बलियो नभएका कारण समान रुपमा महिलाको सहभागिता गराउन नसकेको बताए ।
‘हाम्रा सामु अहिले आम निर्वाचन आइरहेको छ, यस निर्वाचनमा बढी भन्दा बढी महिला दिदी बहिनीहरुलाई उम्मेदवार खडा गर्न चाहे प्रत्यक्षमा वा समानुपातिकमा खडा गर्न प्रयत्नशील छौँ । तरपनि पर्याप्त मात्रामा गर्न सकिएको छैन । हामीले पार्टीलाई दरो नबनाई, ठीक ढंगले गर्न सकिन्न’, खनालले भने, ‘कुनै पनि संगठन बनाउँदा महिला दिदिबिहिनीलाई प्राथमिकता दिनेछौँ । हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा हाम्रो पार्टी लाग्नेछ । आगामी निर्वाचनमा राष्ट्रव्यापी रुपमा होमिनुपर्ने आवश्यक्ता छ ।’