प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ ।आइतबार विहान उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो ।”

 

लामो समय देखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागि निशिम पोखरा १० मा बस्छन् । उनको घर भने गोरखा पालुङटार हो । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् ।

 

अहिले उनको शव पोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ । उनको निधन संगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलहरु रद्ध भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...