
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाहरुको सुदखोर व्यवहार मान्य नहुने बताए । उनले कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग पनि गरे ।
सोही भेलाले यही माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर पनि गरेको छ । व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ । भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार उद्योगी÷व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।