पोखरा महानगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । पोखरा महानगरपालिकाले कृषकहरूको बारीमा उत्पादनमा भएको कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । उक्त एम्बुलेन्सको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार शुभारम्भ गर्नुभएको हो ।
कृषि एम्बुलेन्स महानगरपालिका, सङ्घीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्समा माइनस १५ डिग्री तापक्रमसम्म चिस्यान क्षमताको कुलर जडान गरिएको महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो ।
एम्बुलेन्स सेवाले कृषि उपजको सुरक्षित ढुवानी, ढुवानीका क्रममा हुने क्षति न्यूनीकरण र उपभोक्ताहरूलाई ताजा तरकारी खुवाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मै पहिलो पटक कृषि एम्बुलेन्सको सेवा शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उच्च मूल्यका कृषि उत्पादनहरूलाई कृषकहरूको बारी तथा घर आँगनमा बिग्रन नदिई बजारसम्म पुर्याउन सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई अहिले केवल सुरुवातको रूपमा मात्र लिऔँ ।”
आगामी दिनमा यसको प्रभावकारिता हेरिकन थप सेवा विस्तारको बारेमा निर्णय लिइने प्रमुख आचार्यले बताउनुभयो । चिस्यान सहितको सुविधा भएकाले यसले कृषि सेवाका अलवा आकस्मिक रूपमा अन्य सेवा समेत प्रदान गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
कृषि एम्बुलेन्सको अधिकतम प्रयोगमा उहाँले जोड दिनुभयो । “यो सार्वजनिक सम्पत्ति हो, उहाँले भन्नुभयो, कहिले काहीँ सबै कुराको उपलब्धता हुँदा हुँदै पनि त्यसको उपयोगितामा खासै ध्यान नदिने गरेको पाइन्छ, त्यस्तो चाहिँ नहोस् ।”
एम्बुलेन्सले आफ्नो सेडुल अनुसार पोखरा महानगरपालिकाका ३३ वटै वडाहरूमा सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । यसले कृषिजन्य उत्पादनहरूको ढुवानी हुने अनियमितमालाई रोक्नुका साथै कृषकहरू उचित मूल्य समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।