पाेखरा, जेठ ४ गते ।पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको हुने भएकाे छ ।
जेठ १७ देखि २० गतेसम्म महोत्सव हुन लागेको आज पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे । म्याराथनसँगै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवसमेत हुने बताइएको छ ।
हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले जानकारी दिनुभयाे ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भन्नुभयाे ।म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्ने समेत उहाँको भनाइ छ ।
म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् ।
पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयाे ।
गुरुङका अनुसार भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुकले सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि पर्यटकलाई आतिथ्य सत्कार टक्रयाउन थालेको हो । विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक विस्तारै पर्यटनमा निर्भर बन्यो। क्याम्पिङ थलो घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुलेका छन् ।