पोखरा, १६ पुस/ अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ ।
न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन् ।
बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठको लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् ।
उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूङले महिलाहरूले आफैं लगानी गरेर व्यवसाय गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने सुनाइन् । उनले आशावादी मान्छेले चुनौतीमा पनि अवसर देख्छ भनेजस्तै गरेर आर्थिक संकटको बेलामा ठूलो रकम लगानी गर्नुले अरूलाई पनि प्रेरणा थप्ने बताइन् ।
महानगरले पछाडि परेका महिलालाई उद्यमी बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएर जीविका चलाउन योगदान गरिरहेको उनले बताइन् । ‘महिलाहरू आफैं स्थापित भएर अघि बढ्नुपर्छ । प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्छ भनेर न्यून आय, एकल महिला, हिंसापीडित महिलालाई सबल बनाउन हामीले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएका छौं,’ गुरूङले सुनाइन् ।
महिला उद्यमी एवं सौन्दर्य व्यवसायी चिनु गुरूङले स्वास्थ्य र सुन्दरता एकआपसमा जोडिएको विषय भएकाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइनुपर्ने बताइन् । उनले राजनीतिज्ञ र सामाजिक अभियन्ताले पनि पार्लर छिरेर सेवा लिइदिँदा आफूहरूलाई पनि हौसला मिल्ने उनको भनाइ थियो ।
पोखरा भीमसेन टोलमा जन्मिएकी सञ्जु २०५८ सालमा बेलायत गएकी थिइन् । बेलायतमा सिकेर सञ्जुले २०६२ सालमा (सन् २००६)मा ब्युटी सैलुन खोलेकी थिइन् । अहिले पनि बेलायतमा उनको आफ्नै रमा पर्फेक्सन हेयर एण्ड सैलुन छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि २ दशक बेलायत बसेर कमाएको पैसा नेपालमा लगानी गरेको सञ्जुले सुनाइन् । वर्षमा ४ जनासम्मलाई आफ्नो एकेडेमीमा निशुल्क सौन्दर्य कक्षा सिकाउने सञ्जुको योजना छ ।