काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार विषयगत समितिको बैठक सम्पन्न भएको छ ।
हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पूनर्स्थापना र भावी योजनाका बारेमा तीनै तहका सरकारबिच छलफल सहित क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक आयोजना भएको हो । बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाइ ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।
भट्टराईले विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपत्कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगरपालिका र नगरपालिकालाई ५ लाख र गाँउपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढि प्रभाबीत स्थानीय तहका प्रमुख तथा शिक्षा शाखा प्रमुख , विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो ।
बैठकमा जोखिम मूल्याङ्कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शोचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।