राष्ट्रिय एकता दिवसको सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक प्रस्तुति रहने गरी कार्यक्रम गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । धुनहरू मार्फत कीर्तिशेष स्रष्टाहरू प्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रति आकर्षित गराउने र साक्षात्कार गराउने उद्देश्य रहेको उनको भनाइ छ । कार्यक्रम अपरान्ह ३ः४० बजेबाट प्रतिष्ठानको भानु हलमा सुरु हुनेछ ।
यस कार्यक्रमका संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरुप प्रदर्शन गर्न लागिएको बताए । यो नेपाली सङ्गीत विश्व स्तरमा परिचित गराउने प्रारम्भिक चरणको काम भएको बताए ।
२७ गतेको कार्यक्रममा मूलत गण्डकी प्रदेशका धुनहरू र यहाँका अग्रज स्रष्टाका सिर्जनालाई पहिलो प्राथमिकता दिएर प्रस्तुती राख्न लागिएको खुलाए । यसका अलावा सातै प्रदेशको प्रतिनिधिमूलक धुनहरू प्रस्तुत गरिनेछ । परम्परागत रुपमा रहेका सुर र ताल बाजालाई संयोजन गरिने छ । अर्केष्ट्रा चारवटा फेजमा प्रस्तुत गरिनेछ । १८ वटा प्रस्तुती ५८ मिनेटमा गरिने संयोजक राईले बताए ।
‘हाम्रो अभियान हो यो, अहिले हामीलाई प्रतिष्ठानले प्लेटफम तयार गरिदिनुभयो, यसरी नै हाम्रो आग्रह अरुहरु प्रदेशमा पनि यसरीनै प्लेटफम तयार गरिदिनुभयो भने धुन सँगसँगै कल्चर एक्सचेन्ज हुन्छ भन्ने मान्यता हो’ उनले भने ।
पूर्वदेखि पश्चिमसम्मका कलाकारले भाका र कल्चरलाई जान्ने मौका यो कार्यक्रमले दिने उनको विश्वास छ । लोपोन्मुख भाकालाई माथि ल्याएर विश्वस्तरमा पुर्याउन पूर्ण अर्केष्ट्राको रूप दिन राज्यले सहयोग गरे विश्वस्तरमा पुर्याउन सकिने उनले सुनाए ।
यो कार्यक्रका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी माघ १९ देखि २६ सम्म प्रज्ञा प्रतिष्ठानको भानु सभा हलमा आन्तरिक र बाह्य पर्यटकका लागि संस्कृतिको प्रवर्द्धन गर्ने हेतुले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्दैछ ।
माघ २६ गते नै व्याक टु ९० (कन्सर्ट) कार्यक्रम मार्फत पोखराका हिजोका चर्चित ब्याण्डहरूलाई पुनः क्रियाशिल बनाउने भूमिका खेल्नेछ । यस्तै फागुन ५ देखि ९ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी समेत पोखरामा आयोजन हुनेछ । आगामी वैशाख १४ गते प्रतिष्ठानको स्थापना दिवसमा प्रतिष्ठानले स्थापित गरेका विधागत पुरस्कार वितरण गरी प्रतिष्ठानको ४ वर्षे कार्यकालको डकुमेन्ट्री प्रस्तुत गरेर कार्यकाल पुरा गर्ने बताइएको छ ।
प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले सबै कार्यक्रमलाई सुन्दर बनाउन मेहनत गरिरहेको बताए । उनले यतिबेला गण्डकी प्रदेशका नृत्य तथा गीतसंगीतहरु अनुसन्धानका लागि काम भइरहेको जनाए ।
तरेली साँस्कृतिक परिवारको टिमले विगत तीन महिनादेखि खटाइएको उनले खुलाएका छन् । दोस्रो चरणमा गण्डकी प्रदेशको लोक धुन र नृत्य सहितको कार्यक्रम गरिनेछ । ७० जना कलाकारले एक हप्तासम्म प्रस्तुती राख्नेछन् । आफूहरुको कार्यकालमा यो क्षेत्रमा केही कामको जग बसाल्न खोजेको उपकुलपति गुरुङको भनाइ थियो ।
पोखरा साँगीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङ भाइले गण्डकीका धुनहरू कार्यक्रमका अलावा प्रतिष्ठानले आयोजना गर्न लागेको ’व्याक टु नाइन्टीज’ कार्यक्रम मार्फत समेत पोखराका पप प्यान्डलाई साँगीतिक क्षेत्रमा कमव्याक गराउन भूमिका खेल्ने अपेक्षा गरे । साढे २ घण्टाको अवधिको लाइभ कन्सर्टको लागि हालसम्म त्यतिबेलाका चर्चित ७ वटा व्यान्डको प्रस्तुती निश्चित भएको उनले खुलाए ।
प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले सबैको एकताका कारण आफ्नो कार्यकाल सफल रहेको दावी गरे । २७ गते आयोजना हुने कार्यक्रमबारे धेरैले चासो देखाएको बताए । कला क्षेत्रको सीपले अवसरहरुको समेत सिर्जना गर्ने गरेको दृष्टान्त उनले प्रस्तुत गरे ।
गण्डकी प्रदेशको कला, साहित्य, सङ्गीत र संस्कृतिको वृद्धि–विकास, प्रवर्द्धन र सम्वर्द्धनका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठान २०७८ सालको बैशाखमा स्थापना भएको हो । स्थापना भएको छोटो समयमा नै केही महत्वपूर्ण कार्यक्रम मार्फत प्रतिष्ठानले यसको महत्वको आभाष गराउन सफल भएको छ ।
यस अवधिमा प्रतिष्ठानले गण्डकीका स्रष्टाहरूलाई विश्व भरी चिनाउन ६० जना स्रष्टाहरूको श्रव्यदृश्य मार्फत बायोग्राफी निर्माण गरी प्रतिष्ठानको वेवसाइट र युटुव च्यानलमा राख्ने काम गरिसकेको जनाएको छ । स्रष्टाहरूका हितका लागि दुई सय स्रष्टाहरूको स्वास्थ्य विमा गर्ने काम मात्र नभएर नाग नागीनी नाच, कुमाल, जलारी र विश्वकर्मा समुदायको जीवनीमा आधारीत डकुमेन्ट्री निर्माणको काम सम्पन्न भएको सदस्य सचिव श्रेष्ठले बताए ।
गण्डकी प्रदेशमा अवस्थित ३५ जातिको सामाजिक र साँस्कृतिक विषयमा अनुसन्धान सम्पन्न भएको छ । लोपोन्मुख गीतहरू मगरको सोरठी, घाँटु, बालन, जिबैमाम, गुरूङको सोरठी, हेल्मो समुदायको गीत, गन्धर्व गीत, छ्याडु रेकर्ड गर्ने र युटुवमार्फत प्रचार प्रसार गर्ने काम गरेको उल्लेख गरिएको छ । यस अवधिमा ५७ वटा लोपोन्मुख संस्कृतिको दृष्य छायाङ्कन गरी प्रचार गर्ने काम तथा एक दर्जन जति अनुसन्धानबाट प्राप्त विषयका आधारमा कृति प्रकाशन भएका छन् ।
नयाँ पिढीलाई आफ्नो भाषा र बाजा प्रति उत्तरदायि बनाउन प्रशिक्षणका कार्यक्रमहरू संचालन गरी भाषा तर्फ १ हजार ५ सय ९७ जना र बाजा तर्फ ७ सय ३९ जना प्रशिक्षार्थी उत्पादन गरेको सदस्य सचिव श्रेष्ठले खुलाए ।
प्रतिष्ठानले स्रष्टा स्मृति पार्क, पुस्तकालय, वाल–गेट, चौतारो, श्रव्य दृष्य कक्ष निर्माण सम्पन्न गरेको छ । एकसय भन्दा बढी वाङ्मय संस्थाहरूसँगको सहकार्यमा नाटक लेखन, नाटक निर्देशन, नृत्य कार्यशाला, साहित्यिक गोष्ठी तथा महोत्सव, कला प्रदर्शनी, विभिन्न प्रतियोगिता समेत सम्पन्न गरिसकेको जनाएको छ ।