पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला

पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा उक्र कार्यक्रम भएको हो ।


कार्यक्रममा अदालती रिपोर्टिङसम्बन्धी प्रस्तुति राख्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पत्रकारले सत्य र तथ्य नबुझी समाचार लेख्दा बेलाबेलामा न्यायलय पीडित हुनु परेको बताए । पत्रकारितालाई मर्यादित बनाउने दायित्व पत्रकारको भएको उनले बताए । अदालत र न्याय संवेदनशील विषय भएकाले यसका बारेमा समाचार सम्प्रेषण गर्दा पर्ने प्रभावका बारेमा गम्भीर भएर कलम चलाउन उनले पत्रकारलाई आग्रह गरे । अदालतमा विचाराधीन रहेको मुद्दामा दख्खल दिनेगरी रिपोर्टिङ गर्न नहुनेमा उनको जोड थियो ।

 

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले पत्रकार आचारसंहिताबारे आफ्नो प्रस्तुति राख्दै कानुनी साक्षरता विना अदालती रिपोर्टिङ असम्भव भएको बताए । प्रेस स्वतन्त्रताको पनि सिमा हुने भएकाले, मानहानि, गाली बेइज्जती र अदालतको अपहेलनासम्बन्धी कानुनको ख्याल गरेर रिपोर्टिङ गर्नुपर्ने लामिछानेले औंल्याए ।

 

कार्यक्रमका संयोजक तथा अधिवक्ता विनीता नेपालीले अदालत प्रवेश भएका महिला विषयमा न्यायमा पहुँच वृद्धि हुनेगरी समाचार बनाउन अभिप्रेरित गर्न कार्यशाला गरिएको बताइन् ।

 

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महासंघ पत्रकारको हकहितका साथै क्षमता अभिवृद्धिका लागि सधै लागिरहेको बताउँदै पत्रकार महिलालाई अदालती रिपोर्टिङमा अझ चासो जगाउनका साथै अदालती रिपोर्टिङ गर्दा ख्याल गर्नुपर्ने विषयमा कार्यशालाले सहयोग पुगेको बताए ।

 

कार्यशालामा ४० जना पत्रकार महिला सहभागी भएको पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए । एसियाली महिला कोषले विगत लामो समयदेखि महिला अधिकार क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...