पोखरा २६ मा सुविधासम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने, मन्त्री पौडेलद्धारा जग्गाको निरिक्षण

पोखरा/फागुन २ गते ।संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण स्थलको विहिबार निरक्षण गर्नुभएको छ ।


पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा संघिय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्न लागेको हो ।

 

सुविधा सम्पन्न सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैया विनियोजन भएको छ ।

 

जग्गाको निरिक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गर्दै, चिकित्सालयको निर्माणले पार्ने सकरात्मक र नकरात्मक प्रभावका बिषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पुरा भएको बताउनु भयो । मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारंभिक वातावरणिय प्रभाव मुल्यांन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि ठेण्डर प्रक्रियाद्धारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको बताउनु भयो ।

 

मन्त्री पौडेलले विनियोजन भएको दश करोड रुपैया अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरे लगत्तै सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गर्नुभयो ।
सय शैया चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराईएको र थप दश रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बताउनु भयो ।

 

अध्यक्ष थापाका अनुसार यसअघि २५ शैयाको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणका अनुरोध गर्दै, उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

संघीय सरकारले सातै प्रदेशमा एक÷एक वटा प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाको लागत अनुमान रहेको छ ।

 

शिक्षाविद् रवि बरालले तीन दशक अगाडी सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै, चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गर्नुभयो । बरालले निर्माणस्थलको वातावरण राम्रो रहेको उल्लेख गर्दै, स्थानीय समुदाय समेत सकरात्मक भएकाले चिकित्सालय निर्माणका लागि सहज भएको बताउनु भयो ।

 

स्थानीय कुलदिप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहि कतै अवरोध नभएकाले चाडो प्रक्रिया अगाडी बढाईदिन आग्रह गरे ।

 

चिकित्सालयमा शिरोधारा, साउना वाथ, स्टीम वाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिनु भयो ।

 

पञ्चकर्म सेवाका लागि भिआईपी डिलक्स, र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने समेत डा. गौतमले जानकारी दिनु भयो ।

 

डिलक्स पछि क्याविन र साधारण शैया गरेर एकसय पुर्याईने जानकारी दिदै डा. गौतमले आवासिय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डिपिआर तयार गरिएको बताउनु भयो ।

 

विभिन्न राष्ट्रका भिआईपीहरुले पञ्चकर्मको सेवा र जानकारी लिन आएमा उनिहरुलाई भिआईपी डिलक्स उपलब्ध गराउनेगरी डिजाईन तयार गरिएको गौतमले बताउनु भयो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...