पोखरा, चैत २६ गते।हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक गम्भीर प्रकृतिका बिरामीलाई रक्त चढाउने सेवा सुरु गरिएको छ। अहिलेसम्म मुस्ताङमा दुर्घटनामा परेका गम्भीर घाइते वा अत्यधिक रक्तश्राव भएका सुत्केरी महिलाहरूलाई पोखरा ल्याएर मात्र रगत दिने व्यवस्था थियो। तर अब सो सेवा पहिलोपटक मुस्ताङमै सुरु भएको छ।
चैत २३ गते, २३ वर्षीया एक महिला घरमै सुत्केरी भएकी थिइन्। सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको, पाठेघरको मुख गम्भीर रूपमा चिरिएको तथा रगतमा हेमोग्लोबिनको मात्रा निकै कम (५.५) रहेकाले उनलाई तत्काल रगत चढाउनु आवश्यक थियो। सामान्य व्यक्तिमा हेमोग्लोबिनको मात्रा करिब १३ हुनुपर्नेमा ती महिलाको मात्रा निकै कम भएकाले अवस्था अत्यन्तै गम्भीर बनाएको थियो। बिहान करिब ७ बजे सुत्केरी भएकी ती महिलालाई दिउँसो १ बजे मात्र अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन्।
अस्पतालका कन्सल्टेन्ट डा. विशाल सापकोटाका अनुसार, ती महिलाको शल्यक्रिया राति डा. सापकोटाको नेतृत्वमा डा. अनिसा गुरुङ, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्सहरू दिव्या जिसी र सुधा पौडेलको टोलीले सफलतापूर्वक सम्पन्न गरेका हुन्। शल्यक्रियामा दुई पिन्ट रगत आवश्यक परेको थियो। रक्तसमूह पहिचानपछि उपयुक्त रगतदाताको खोजी गरी रगत चढाइएको थियो।
डा. सापकोटाले भन्नुभयो, “घरमै सुत्केरी भएकी महिलाको बच्चाको नाभि काट्ने लगायतका काम घरमै गरिएको रहेछ, रक्तश्राव भएपछि मात्र अस्पताल ल्याइएको हो। गम्भीर अवस्था देखिएपछि शल्यक्रिया गरी रगत चढायौं। यो मुस्ताङमा पहिलोपटक गरिएको सेवा हो। अहिलेसम्म यहाँ यस्ता बिरामीलाई रगत दिने सेवा थिएन।”
डा. सापकोटाले थप भन्नुभयो, “एक व्यक्तिले दिएको रगत अर्को व्यक्तिमा सार्ने कार्य यस अस्पतालमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको हो। अबदेखि यस्तो सेवा यही उपलब्ध हुनेछ। रगत आवश्यक परेमा पोखरा लैजानुपर्ने अवस्थाको अन्त्य भएको छ। साथै ब्ल्ड बैक को आवश्यक्ता रहेको कुरा पनि जानकारी दिनु भयो ”
उपचारपछि आमाको अवस्था स्थिर भएपछि थप उपचारका लागि उनलाई क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ। डा. सापकोटाका अनुसार, यो सफलता केवल चिकित्सकीय मात्र नभई दुर्गम पहाडी जिल्ला मुस्ताङमा आपतकालीन सेवा विस्तार र सामूहिक समर्पणको प्रेरणादायी उदाहरण पनि हो।
मुस्ताङमा रगत आवश्यक पर्दा तत्काल उपलब्ध नहुने भएकाले यहाँ ब्लड बैंकको आवश्यकता रहेकाे छ । तत्काल रगत दिने ब्यक्ति सधै पाउन सकिदैन उहाँले भन्नुभयाे, मुस्ताङमा रगत दिनुपर्ने बिरामीको सहज उपचारका लागि ब्लड बैंक स्थापना गर्नुपर्ने । मुस्ताङ पर्यटकीय क्षेत्र समेत भएकाले पूर्वाधार, दक्ष जनशक्ति सहितकाे सुविधा सम्पन्न अस्पताल आवश्यक ।
डा. सापकोटाले रक्त परीक्षण र क्रस म्याचिङमा समर्पित मैना थापा तथा ल्याब टोली तथा मध्यरातमा रक्तदान गर्ने नविन थापा र शनि लाल बागदासप्रति आभार व्यक्त गर्नुभएको छ।