फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत,मुआव्जा उपलब्ध गराउन पनि अपिल

पोखरा, २६ जेठ । सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ ।होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– निकै ढिला गरेर भए पनि फेवातालको सिमांकन गरेर संरक्षण गर्न थालिएको कदमको संघ हार्दिक स्वागत गर्दै तिनै तहका सरकार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

तालको संरक्षण गर्नु जति जरुरी छ, तालको सिमाकंन गर्दा पीडित बनेका स्थानीय बासिन्दा, व्यवसायी र जग्गा धनीहरुको संरक्षण र व्यवस्थापन गर्नु त्यति नै जरुरी भएको विषयलाई पनि संघले जोड दिएको छ । तालको संरक्षण गर्दा व्यक्ति वा संस्थाहरुको लालपूर्जा भएको जमिनको सरकारी मुल्याङ्कन अनुसार मात्र नभएर हाल चलेको मूल्य अनुसार मुआव्जा उपलब्ध गराउन पनि अपिल गरिएको छ । राज्यका विभिन्न निकायबाट अनुमति लिएरै सञ्चालनमा रहेका व्यवसायीलाई विस्थापित गर्दा उनीहरुको संरक्षण सहितको उचित व्यवस्थापन एवं पर्याप्त क्षतिपूर्ती उपलब्ध गराउन संघले माग गरेको छ । ‘ताल संरक्षणका लागि जसरी हामी सरकारको साथमा रहेका छौ त्यसरी नै व्यवसायीको व्यवस्थापन र संरक्षणका लागि जस्तो सुकै पहल गर्न वा लडाई लड्न हामी पछि नपर्ने जानकारी गराउन चाहान्छौ ।,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा सर्वोच्च अदालतको फैसला, आदेश अनुसार नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा तालको सिमांकन प्रारम्भ गरेकोमा पोखराका पर्यटन व्यवसायीहरु त्यस कार्यको विपक्षमा छन् भन्दै गरिएका वक्तब्यबाजी प्रति होटल संघले ध्यानाकर्षण भएको जनाउँदै आफ्नो भनाई बाहिर ल्याएको हो । फेवाताल पोखराको मात्र नभएर राष्ट्रकै गहना हो । यसै ताललाई आधार बनाएर पोखरामा होटल व्यवसायीले ५ खर्ब रुपैया भन्दा बढी लगानी गरेको तथ्यांक संघले प्रस्तुत गरेको छ । पयर्टन उद्योेगका अन्य क्षेत्रमा पनि झण्डै यसैको हाराहारीमा लगानी रहेको उल्लेख गर्दै फेवाताल नरहने हो भने यो लगानी बालुवामा पानी हाले सरह हुन जाने विषय पनि स्मरण गराइएको छ । यही सन्दर्भलाई मध्यनजर गर्दै संघले स्थापना काल देखि नै ताल संरक्षणको पक्षमा बारम्बार लबिङ गर्दै आएको विषय पनि उल्लेख गरिएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...